जुम्लाबाट उद्धार गरिएकी सुत्केरीको उपचारकै क्रममा मृत्यु

एक महिना अगाडि
जुम्लाबाट उद्धार गरिएकी सुत्केरीको उपचारकै क्रममा मृत्यु

सुर्खेत। जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–३ निवासी १८ वर्षीया अस्मिता नेपालीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा राति करिब १ बजे ज्यान गएको अस्पतालले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनलाई घरमै सुत्केरी गराउने प्रयास गरिँदा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल बनेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो। त्यहाँ चिकित्सकहरूले शल्यक्रिया गरे पनि स्वास्थ्य अवस्था थप गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत स्थानान्तरण गरिएको थियो। तर अस्पतालका चिकित्सकले अत्यधिक जटिलता देखिएकाले उपचार सम्भव नभएको बताएका छन्। घटनाले दुर्गम क्षेत्रमा सुरक्षित मातृ तथा प्रसूति सेवाको अभाव अझै गम्भीर रहेको तथ्य फेरि उजागर गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।