इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनमा नेपाली लेगस्पीनर सन्दीप लामिछाने कुनै पनि टोलीले नकिनेपछि अनसोल्ड भएका छन्। उनले विदेशी खेलाडीको ‘अन्य’ क्याटेगोरीमा ३१ हजार पाउन्डको आधार मूल्य राखेर नाम दर्ता गराएका थिए। तर विदेशी खेलाडीको कोटा भरिएसम्म उनको नाम अक्सन प्रक्रियामा नै नआएको बताइएको छ। अन्तिम चरणमा टोलीहरूलाई थप खेलाडी छनोट गर्ने अवसर दिइए पनि कुनै पनि फ्रेन्चाइजले उनलाई लिन रुचि देखाएन। सन्दीप यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्स टोलीले एक लाख पाउन्डमा अनुबन्ध गरेको थियो, तर उनले उक्त सिजनमा खेल्ने अवसर पाएका थिएनन्। उनले यसअघि आईपीएल, बीबीएल, बीपीएल र सीपीएल जस्ता विश्वका विभिन्न चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा भने खेलिसकेका छन्।