काठमाडौं। बजारमा सम्भावित अभाव रोक्न नेपाल आयल निगमले ग्यास सिलिन्डरमा आधा मात्र एलपी ग्यास भरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमका अनुसार अब उपभोक्तालाई उपलब्ध गराइने सिलिन्डरमा ७.१ किलोग्राम ग्यास भरेर प्रतिगोटा ९५५ रुपैयाँमा वितरण गरिनेछ। मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुन सक्ने आशंका र स्वदेशमा ग्यासको माग अस्वाभाविक रूपमा बढ्न थालेपछि यस्तो निर्णय गरिएको निगमले जनाएको छ। निगमका अधिकारीहरूका अनुसार हाल ग्यास नियमित रूपमा आयात भइरहे पनि उपभोक्ताले आवश्यकता भन्दा बढी सञ्चय गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिन थालेको छ। सीमित आपूर्ति धेरै उपभोक्तासम्म समान रूपमा पुग्ने उद्देश्यले अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था लागू गरिएको निगमले स्पष्ट पारेको छ।