काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी व्यस्तताका कारण अस्वस्थ भएपछि घरमै आराम गरिरहेका छन्। उनका प्रमुख स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेलाई केही दिनदेखि ज्वरो आएको छ।
चिकित्सकीय परीक्षणका क्रममा उनको पिसाबमा संक्रमण देखिएको र अहिले औषधि सेवन गरिरहे पनि ज्वरो पूर्ण रूपमा नियन्त्रणमा नआएको जानकारी दिइएको छ।
यसैबीच भावी प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले बिहीबार लामिछानेको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएपछि उनीहरूबीच भएको यो पहिलो भेट हो। स्रोतका अनुसार भेटका क्रममा दुई नेताबीच एक्लै छलफल भएको थियो।
रास्वपाले छिट्टै समानुपातिक सूचीबाट संसदमा पठाइने उम्मेदवारको टुंगो लगाउनुपर्ने र नयाँ सरकार गठनका विषयमा पनि आन्तरिक तयारी गर्नुपर्ने भएकाले सोही विषयमा सामान्य छलफल भएको बताइएको छ।