बागमती शुद्धीकरणका लागि ४० दिने ‘दिव्य देव यात्रा’ आयोजना हुने

एक महिना अगाडि
बागमती शुद्धीकरणका लागि ४० दिने ‘दिव्य देव यात्रा’ आयोजना हुने

काठमाडौं । पशुपतिनाथको चरणमा बग्ने पवित्र बागमती नदीमा ढल मिसाइएको भन्दै त्यसलाई ‘शिव अपराध’को रूपमा व्याख्या गर्दै नदी शुद्धीकरण र आध्यात्मिक जागरणका लागि ४० दिने ‘दिव्य देव यात्रा’ (पदयात्रा) आयोजना गरिने भएको छ।

देवघाटधामस्थित महेश सन्यास आश्रमका अध्यक्ष १००८ स्वामी रमणानन्द गिरीले बागमती शुद्धीकरणको मागसहित उक्त पदयात्राको घोषणा गरेका हुन्। उनका अनुसार पशुपतिनाथ सम्पूर्ण नेपालीहरूको आध्यात्मिक पहिचानका केन्द्र हुन्। हिन्दु, बौद्ध (अवलोकितेश्वर) र किराँत (पारुहाङ) परम्परामा समेत आराध्य देवका रूपमा पूजिने पशुपतिनाथको जिब्रोको रसबाट उत्पत्ति भएको मानिने बागमती नदीमा २०५० को दशकदेखि ढल मिसाइनु ठूलो ‘देव अपराध’ भएको उनले बताए।

भारतको अयोध्यामा रामललाले आफैँ मुद्दा लडेर आफ्नो अधिकार स्थापित गरेको उदाहरण दिँदै उनले पशुपतिनाथको पनि ‘देवाधिकार’ रहेको स्पष्ट पारे। राज्य र उपत्यकाका नागरिकलाई सचेत गराउन सन्तहरूको अगुवाइमा ‘धर्मादेश’ जारी गरिने उनको भनाइ छ। पशुपति क्षेत्रलाई राजनीतिक भागबण्डाको केन्द्र नबनाई श्रद्धा र आस्थाको पवित्र स्थलका रूपमा जोगाउनुपर्नेमा उनले जोड दिए।

बागमती ढलमुक्त भई शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउने अवस्था नआएसम्म यो आध्यात्मिक तथा वैचारिक अभियान जारी रहने उनको भनाइ छ। करिब ३५ देखि ४० दिनसम्म चल्ने यात्रामा १०० भन्दा बढी साधुसन्त, ब्रह्मचारी, बटुक र श्रद्धालुको सहभागिता रहने जनाइएको छ।

कार्यक्रमअनुसार १५ गते साँझ पशुपतिनाथमा बागमती महाआरती, गंगा पूजन तथा प्राज्ञिक उद्बोधन कार्यक्रम हुनेछ। १६ गते साँझ कुशेश्वर पुगेर १७ गते बिहानबाट मुख्य पदयात्रा सुरु गरिनेछ भने यात्राका क्रममा विभिन्न गाउँ–सहरमा धर्मसभा र जागरण कार्यक्रम आयोजना गरिने आयोजकले जनाएका छन्।