एमाले सचिवालय बैठकः समानुपातिकतर्फ १६ नाम सिफारिस

एक महिना अगाडि
एमाले सचिवालय बैठकः समानुपातिकतर्फ १६ नाम सिफारिस

भक्तपुर । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै विभिन्न क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।

आदिवासी जनजातितर्फ भुमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य सिफारिस भएका छन्। खस–आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदा कुमारी बराल रहेका छन्।

त्यस्तै थारुतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी, मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल तथा मुस्लिमतर्फ साजिदा सिद्धिकी सिफारिस भएका छन्।

बैठकले अध्यक्ष ओलीका ९७ वर्षीय बुवाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। साथै केन्द्रिय सदस्य कृष्ण थापा र पूर्वकेन्द्रीय सदस्य खगेन्द्र राईको निधनप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ।