औषधि उत्पादनका लागि सहुलियत ऋण आवश्यक : व्यवसायी

एक महिना अगाडि
औषधि उत्पादनका लागि सहुलियत ऋण आवश्यक : व्यवसायी

काठमाडौं । औषधि उत्पादन क्षेत्रमा लगानी बढाउन सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूले गरेका छन्।

नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल फर्मा एक्स्पो–२०२६’ मा सहभागी व्यवसायीहरूले यस्तो माग गरेका हुन्।

एप्पोनका मिडिया संयोजक शैलेस वैद्यले सरकारको नीतिगत सहयोग, सहुलियत ऋण र कर छुटको व्यवस्था भए नेपाललाई औषधि उत्पादनमा छिट्टै आत्मनिर्भर बनाउन सकिने बताए।

सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले प्रविधि विकास, क्षमतावृद्धि तथा उत्पादन विस्तारका लागि सहुलियत ऋण र प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताए।

तीन दिनसम्म सञ्चालन भएको उक्त एक्स्पोमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, प्रयोगशाला उपकरण, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा मेसिनहरूको प्रदर्शन गरिएको थियो। कार्यक्रममा चिकित्सक, नर्स, औषधि उत्पादक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।