इनिसा विक हत्याका दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन

एक महिना अगाडि
इनिसा विक हत्याका दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा शनिबार पनि प्रदर्शन गरिएको छ।

माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले दोषीलाई कडा सजाय दिन कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

सामाजिक अभियन्ता कविता चन्द सोडारीले हत्या र बलात्कारजस्ता जघन्य अपराध दोहोरिन नदिन सरकारलाई सचेत गराउन अभियान सञ्चालन गरिएको बताइन्।

प्रदर्शनकारीहरूले ‘इनिसालाई न्याय देऊ’, ‘बालिकामाथि हुने हिंसा बन्द गर’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।