काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहा र काठमाडौंबीचको हवाई सेवा सञ्चालन हुने भएको छ।
कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च (चैत २ र ३) मा दोहा–काठमाडौं उडान हुनेछ। त्यसैगरी १७ र १८ मार्च (चैत ३ र ४) मा काठमाडौं–दोहा उडान तय गरिएको छ।
दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यतर्फ जाने यात्रुहरूले पनि यो उडान प्रयोग गर्न सक्नेछन्। कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन र पेरिसलगायत गन्तव्यमा पनि विशेष उडान सञ्चालन गरिरहेको जनाएको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण केही उडानहरू रद्द वा मार्ग परिवर्तन गरिएका छन्। यस्तो अवस्थामा दोहा–काठमाडौं उडान कायम रहनुलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।
दोहा विश्वका प्रमुख ट्रान्जिट केन्द्रमध्ये एक भएकाले नेपाल आउने तथा बाहिरिने यात्रुका लागि यो उडान महत्वपूर्ण मानिन्छ। कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न देशतर्फ यात्रुहरू यात्रा गर्छन्।
विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, स्वदेश फर्किने यात्रु तथा विदेश जाने विद्यार्थीका लागि दोहा–काठमाडौं उडान महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
एयरलाइन्सले भने यात्रुहरूलाई आफ्नो उडानबारे पछिल्लो जानकारी लिन आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्सीमार्फत अद्यावधिक सूचना जाँच गर्न आग्रह गरेको छ।