काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले उक्त नामावली तय गरी निर्वाचन आयोगमा बुझाएको हो।
पार्टीका अनुसार समानुपातिकबाट ४८ जना महिला र ९ जना पुरुष सांसद चयन हुनेछन्। क्लस्टरअनुसार खसआर्यबाट १७, जनजातिबाट १६, दलितबाट ८, मुस्लिमबाट ३, मधेसीबाट ९ र थारुबाट ५ जना समेटिएका छन्। रास्वपाले आयोगमा बुझाएको नामावली भने तत्काल सार्वजनिक नगर्ने जनाएको छ। आयोगले आवश्यक रुजु प्रक्रिया पूरा गरेपछि आधिकारिक रूपमा सूची सार्वजनिक गर्नेछ।
यता नेपाली कांग्रेसले पनि समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार २० सिटमध्ये १५ मा महिला र ५ मा पुरुषको नाम पठाइनेछ।
क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६ र थारु, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्र मिलाएर ५ जनाको नाम आयोगमा पठाइने उनले बताए। कांग्रेसले पनि नाम सार्वजनिक नगरी आयोगले नै सूची सार्वजनिक गर्ने जनाएको छ।
यसैबीच श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा बसेको केन्द्रीय समिति बैठकले सुनसरीका पूर्ण लिम्बू, धनुषाकी रुवीकुमारी ठाकुर, सुनसरीकी अम्बिकादेवी संग्रौला र सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम तय गरेको प्रवक्ता सत्य घलेले जानकारी दिए।
उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि चार जना समानुपातिक सांसदको सूची टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले खसआर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खसआर्य महिलातर्फ खुस्बु ओली र जनजाति महिलातर्फ सरस्वती लामाको नाम चयन गरेको हो। राप्रपाले प्रत्यक्षतर्फ भने जुम्लाबाट ज्ञानेन्द्र शाहीलाई निर्वाचित गराएको छ।