सेयर बजार ४.४५ अंकले उकालो, कारोबार १४ अर्बभन्दा बढी

एक महिना अगाडि
सेयर बजार ४.४५ अंकले उकालो, कारोबार १४ अर्बभन्दा बढी

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ४ दशमलव ४५ अंकले बढेर २८ सय २४ अंकमा पुगेको छ।

दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो। कारोबार रकम भने केही दिनयता उच्च नै देखिएको छ। अघिल्लो दिन १४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

यस दिन १२४ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढेको छ। बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६ र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।

 

चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन्। सोलु हाइड्रोपावरको सेयर आइतबारबाटै दोस्रो बजारमा कारोबार सुरु भएको हो।