काठमाडौं । नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण फुटबल खेलको तयारीका लागि ४९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
हालै नियुक्त मुख्य प्रशिक्षक गुल्लिएल्मो एरेनाले प्रारम्भिक रूपमा जम्बो टोली घोषणा गर्दै खेलाडीहरूलाई प्रशिक्षणका लागि बोलाएका हुन्।
नेपालले चैत १२ गते काठमाडौंस्थित दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। उक्त खेल एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध हुने खेलअघि तयारीका रूपमा आयोजना गर्न लागिएको हो।
प्रशिक्षक एरेनाले ठूलो टोलीबाट खेलाडीहरूको प्रदर्शन मूल्यांकन गरेर अन्तिम टोली छनोट गर्ने योजना बनाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिनेछ। प्रारम्भिक सूचीमा राष्ट्रिय टोलीका नियमित सदस्यसँगै केही नयाँ खेलाडी पनि समेटिएका छन्।