काठमाडौं । भदौ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बिहीबार विहानै भेटेका छन् । भेटमा रविले सुदनलाई के भने त ?
भेटबारे सुदन भन्छन् : 'एकताको विषयमा उहाँले के भन्नु भयो भने जेनजीका लागि हामी सुरुदेखि नै साथमा थियौँ। अब चाहिँ हामी खुलेर साथ दिन्छौँ।
भ्रष्टाचारविरुद्धको तपाईंहरूको जुन मुद्धा छ, सबैले उठाए। आफैले भ्रष्टाचार गर्ने, अनि आफैँ मुद्धा उठाउने भयो। आफैँ धामी, आझैँ झाँक्री हुने भए। कित त धामी हुनुपर्यो, कि त झाँक्री हुनु पर्यो भन्ने कुरामा हामी छलफल भयो।
म लगायत, मेरो सम्पूर्ण पार्टी साथमा छौँ। तपाईंहरुले उठाएको मुद्धामा, हरेक कुरामा अब रास्वपा पनि खुलेर लाग्छौँ भनेर हामीलाई विश्वास दिलाउनु भएको छ।'
भेटमा रविले आफूलाई सहकारी ठगीका नाममा अनावश्यक मुद्धामामिलामा फसाइएको गुनासो गरेका थिए। यसबारे अहिलेको सरकारे झन शक्तिशाली आयोग बनाएर छानबिन गर्न सक्ने समेत बताएको गुरुले उल्लेख गरे।
‘उहाँले बरु अर्को आयोग बनाएर भएपनि मलाई छानबिन गरियोस्। ममाथि अझै छानबिन गरियोस् यसमा मलाई कुनै तनाव छैन। तर यतिधेरै मुद्दा म दुई सय वर्ष लाएर पनि भ्याउदिन भन्ने कुरा उहाँले गर्नुभयो।’
सहकारी पीडितको कुरा आफूहरुले पहिलेदेखि नै उठाएको भन्दै रविको कुरा यसमा के रहेछ भनेर बुझ्न पनि कारागार गएको गुरुङले बताए।
बिहीबार बिहानै एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु करागार जान लागेको जानकारी गराए।
फेसबुकमार्फत उनले ‘बालेन र कुलमानलाई मिलाएको’ उल्लेख गर्दै भनेका थिए(‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’
पूर्व घोषणा अनुसार गुरुङ रविलाई भेट्न नख्खु कारागार पुगे। रविसँगको भेटपछि उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै एकताबारे कुरा भएको सुनाए। उनका अनुसार रविले आफ्नो पार्टीले जेनजीहरुले उठाएको मुद्धामा पूरा साथ दिने बचन दिएका छन्।