पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

एक महिना अगाडि
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं । पश्चिम एसियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लागेपछि नेपाल आयल निगमले स्वदेशी बजारमा इन्धनको मूल्य बढाएको छ।

निगमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। समायोजन गरिएको नयाँ मूल्य चैत २ गते राति १२ बजेर १ मिनेटदेखि लागू हुने जनाइएको छ।

नयाँ दरअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ तोकिएको छ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँमा बिक्री हुने भएको छ। त्यसैगरी पहिलो वर्गअन्तर्गतका तराईका जिल्लामा पेट्रोल १६९ रुपैयाँ ५० पैसा र डिजेल १४९ रुपैयाँ ५० पैसामा उपलब्ध हुने निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा हालको लागत मूल्यअनुसार पेट्रोलमा करिब ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रति सिलिन्डर करिब २१६ रुपैयाँसम्म मूल्य बढेर आएको छ। तर उपभोक्तामाथि अत्यधिक भार नपरोस् र सार्वजनिक यातायात सञ्चालन सहज रहोस् भन्ने उद्देश्यले मूल्य स्थिरीकरण कोष प्रयोग गरी सीमित दरमा मात्र मूल्य समायोजन गरिएको निगमको दाबी छ।

यति परिमाणमा मूल्य बढाएपछि पनि निगमलाई प्रत्येक पन्ध्र दिनमा करिब तीन अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ।

यसअघि रसिया–युक्रेन युद्धका बेला इन्धनको बक्यौता रकम तिर्न नसक्दा आपूर्ति प्रभावित भएको अनुभवलाई ध्यानमा राख्दै हालको अन्तर्राष्ट्रिय परिस्थितिमा इन्धन आपूर्ति निरन्तर राख्न मूल्य समायोजन आवश्यक परेको निगमले स्पष्ट पारेको छ।

साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिने प्रतिबद्धता निगमले व्यक्त गरेको छ।