काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने प्रयासमा सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को भविष्य नै कमजोर बन्न सक्ने चेतावनी दिएका छन्।
ब्रिटिश पत्रिका फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन्। उनका अनुसार खाडी क्षेत्रको महत्वपूर्ण समुद्री मार्ग मानिने होर्मुज जलडमरू खुला राख्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। उनले विशेषगरी तेल आयातमा निर्भर देशहरूले यस विषयमा जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।
ट्रम्पले चीनले पनि उक्त जलमार्ग खुलाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार चीनले आयात गर्ने झण्डै ९० प्रतिशत तेल यही जलडमरू हुँदै आपूर्ति हुने भएकाले बेइजिङको पनि यसमा ठूलो चासो रहने विश्वास व्यक्त गरे।
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच मार्च महिनाको अन्त्यतिर बेइजिङमा भेटवार्ता हुने तयारी छ। उक्त भेटअघि नै चीनले केही पहल गर्ने अपेक्षा आफूले राखेको ट्रम्पको भनाइ छ। उनले भेटवार्ताको अझै करिब दुई साता समय बाँकी रहेकाले यस अवधिमा परिस्थिति परिवर्तन हुन सक्ने संकेत पनि गरे।
यद्यपि उनले आफ्नो चीन भ्रमण तालिका परिवर्तन हुन सक्ने सम्भावनाबारे पनि संकेत गरेका छन्। तर भ्रमण स्थगित हुने वा नहुने विषयमा उनले स्पष्ट विवरण भने दिएका छैनन्।
ट्रम्पले युरोपेली देशहरूको भूमिकाबारे टिप्पणी गर्दै खाडी क्षेत्रबाट आउने तेलमा युरोप र चीन दुवै अत्यधिक निर्भर रहेको स्मरण गराए। त्यसैले होर्मुज जलमार्ग सुरक्षित र सञ्चालनयोग्य बनाउन ती देशहरूले पनि सक्रिय सहयोग गर्नु उचित हुने उनले बताए।
उनले यदि सहयोगी देशहरूबाट अपेक्षित प्रतिक्रिया नआएमा त्यसले नेटो गठबन्धनको दीर्घकालीन भविष्यमा असर पार्न सक्ने चेतावनी दिए। साथै अमेरिकाले आफ्ना युरोपेली साझेदारहरूप्रति धेरै उदार व्यवहार गर्दै आएको उनको टिप्पणी थियो।
यसै सन्दर्भमा ट्रम्पले युक्रेनलाई दिएको सहयोगको उदाहरण पनि दिए। उनले युक्रेन अमेरिका भन्दा हजारौँ माइल टाढा रहेको देश भए पनि अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै अब सहयोगी राष्ट्रहरूले पनि अमेरिका प्रति कस्तो व्यवहार गर्छन् भन्ने हेर्न बाँकी रहेको बताए।