ग्यास अभावबीच भारतबाट मूल्य बढेर आयो, नेपालमा पुरानै मूल्य कायम

एक महिना अगाडि
ग्यास अभावबीच भारतबाट मूल्य बढेर आयो, नेपालमा पुरानै मूल्य कायम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो तनाव र मध्यपूर्व तथा पश्चिम एशियामा चर्किएको युद्धको प्रभावले एलपीजी ग्यासको मूल्यमा वृद्धि भएको छ। भारतले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार ग्यासको लागत बढेर आएको हो।

नयाँ मूल्यसूचीअनुसार प्रति सिलिन्डर ग्यासको मूल्य करिब २१६ रुपैयाँले बढेको बताइएको छ। तर लागत बढेर आए पनि नेपालमा उपभोक्ताका लागि हालसम्म पुरानै मूल्य कायम गरिएको निगमले जनाएको छ।

ग्यासको आयात लागत बढ्दा निगमको घाटा थप बढ्ने अवस्था देखिएको छ। निगमका अनुसार हाल पनि पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको घाटा हुने अनुमान गरिएको छ।

यसअघि निगमले भारतसँग ठूलो रकम भुक्तानी बाँकी रहँदा आपूर्ति प्रणालीमा समस्या देखिएको थियो। करिब २४ अर्ब रुपैयाँसम्म बक्यौता पुग्दा आपूर्ति व्यवस्थापनमा चुनौती उत्पन्न भएको अनुभव निगमले जनाएको छ।

हाल अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण आयात मूल्य बढे पनि उपभोक्तालाई तत्काल असर नपरोस् भन्ने उद्देश्यले हालका लागि पुरानै खुद्रा मूल्य कायम राखिएको बताइएको छ।