काठमाडौं, ३ चैत । मध्यपूर्वमा जारी तनावका बीच अस्थायी रूपमा बन्द गरिएको संयुक्त अरब इमिरेट्स (यूएई) को आकाश मार्ग पुनः सञ्चालनमा ल्याइएको छ। सुरक्षा जोखिम बढेपछि केही समयका लागि बन्द गरिएको एयरस्पेस करिब दुई घण्टापछि मंगलबार पुनः खोलिएको हो।
यूएईले अमेरिका र इजरायलसँगको द्वन्द्वका क्रममा इरानबाट निरन्तर मिसाइल तथा ड्रोन आक्रमण भइरहेको अवस्थालाई ध्यानमा राख्दै सावधानीका रूपमा आकाश मार्ग बन्द गरेको थियो।
यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले तीन सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र करिब एक हजार छ सय ड्रोनलाई अवरोध गरेर नष्ट गरेको जनाएको छ।
यूएईको नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीय सुरक्षा अवस्थाको विस्तृत मूल्यांकनपछि सम्बन्धित निकायहरूसँग समन्वय गरेर एयरस्पेस पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। उड्डयन सुरक्षालाई प्राथमिकतामा राख्दै परिस्थितिको निरन्तर निगरानी भइरहेको पनि प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार तीव्र रूपमा परिवर्तन भइरहेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उडान, उडानकर्मी र यूएईको भूभागको सुरक्षालाई सुनिश्चित गर्न सावधानी अपनाउँदै केही समयका लागि आकाश मार्ग पूर्ण रूपमा बन्द गरिएको थियो।
यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण भएपछि उडान सेवा प्रभावित बनेको थियो। इन्धन भण्डारण केन्द्रमा आगलागी भएपछि सोमबारदेखि सीमित उडान तालिका लागू गरिएको थियो। उक्त घटनामा मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्। यो विमानस्थलमा चौथो ड्रोन घटना भएको जनाइएको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय उडानहरू रद्द हुनुका साथै केही उडानहरू वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्।
यसैबीच, बेलायती राष्ट्रिय ध्वजावाहक विमान सेवा ब्रिटिश एयरवेजले मध्यपूर्व गन्तव्यतर्फका उडानमा अस्थायी कटौतीको अवधि थप गरिएको जनाएको छ। यस निर्णयका कारण अबु धाबी, ओमान, बहराइन, दोहा, दुबई र इजरायलको तेलअविवतर्फका केही उडानहरू प्रभावित भएका छन्।
एयरलाइन्सले यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै वैकल्पिक यात्रा व्यवस्था मिलाइरहेको र प्रभावित यात्रुहरूसँग सम्पर्क गरिरहेको जनाएको छ।
ब्रिटिश एयरवेजका अनुसार ओमानको मस्कटबाट आठ वटा राहत उडान सञ्चालन गरिएको छ भने सिंगापुर र बैंककतर्फ थप उडान पनि व्यवस्था गरिएको छ।