काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट २५ देखि ४० वर्ष उमेर समूहका १०२ जना युवा सांसद निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट यो सङ्ख्यामा युवा प्रतिनिधि संसदमा पुगेका हुन्।
‘राष्ट्रिय युवा नीति, २०८२’ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनिए पनि सांसद हुन न्यूनतम २५ वर्ष उमेर आवश्यक हुने व्यवस्था छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार २५ देखि ४० वर्ष उमेर समूहका ६१ जना प्रत्यक्षतर्फबाट तथा ४१ जना समानुपातिकतर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
दलगत रूपमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सबैभन्दा धेरै ८३ जना युवा सांसद निर्वाचित भएका छन्। त्यसपछि नेपाली कांग्रेसबाट ९ जना, नेकपा एमालेबाट ६ जना तथा राप्रपा र श्रम संस्कृति पार्टीबाट दुई–दुई जना युवा प्रतिनिधि निर्वाचित भएका छन्।
कानुन निर्माण तथा नीतिगत निर्णय हुने सर्वोच्च निकाय प्रतिनिधिसभामा युवाको बढ्दो उपस्थिति लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण मानिएको विश्लेषकहरूको भनाइ छ।