काबुल । अफगानिस्तानले पाकिस्तानमाथि काबुलस्थित एक अस्पतालमा हवाई हमला गरेको आरोप लगाएको छ। सोमबार राति भएको उक्त हमलामा कम्तीमा ४०० जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएको अफगान अधिकारीहरूले दाबी गरेका छन्।
अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार सोमबार राति स्थानीय समयअनुसार करिब ९ बजे काबुलमा रहेको दुई हजार शय्या क्षमताको लागूऔषध प्रयोगकर्ता उपचार केन्द्रमा हवाई आक्रमण भएको थियो।
हमलाका कारण अस्पताल भवनको ठूलो हिस्सा ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थानीय टेलिभिजनहरूले प्रसारण गरेका दृश्यहरूमा सुरक्षाकर्मी तथा उद्धार टोलीहरू भग्नावशेषबाट घाइते र शव निकाल्दै गरेको तथा आगो निभाउने प्रयास गरिरहेको देखिन्छ।
तर पाकिस्तानले भने अस्पतालमा हमला गरेको आरोप अस्वीकार गरेको छ। उसले पूर्वी अफगानिस्तानका केही क्षेत्रमा आफ्नो सैन्य कारबाही केन्द्रित रहेको तर कुनै पनि नागरिक संरचना वा अस्पतालमा क्षति नपुर्याएको दाबी गरेको छ।
पछिल्लो समय दुई छिमेकी मुलुकबीच तनाव बढ्दै गएको छ। गत महिनाको अन्त्यदेखि सुरु भएको झडप र हवाई हमलाहरूलाई पछिल्ला वर्षहरूकै सबैभन्दा घातक द्वन्द्वका रूपमा हेरिएको छ।
यसै हमलाभन्दा केही घण्टा अघि मात्र सीमा क्षेत्रमा भएको गोलाबारीमा चार जनाको ज्यान गएको थियो। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र तत्काल युद्धविराम गर्न आह्वान गरिरहेको छ।