काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको दमन, मानवअधिकार उल्लङ्घन र क्षतिको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिनको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ। आयोगले आगामी साता उक्त प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित विशेष समितिले आन्दोलनका क्रममा भएका घटनाको विस्तृत अध्ययन, तथ्य सङ्कलन र पीडित तथा सरोकारवालासँगको छलफलपछि प्रतिवेदन तयार पारेको हो।
छानबिनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित ८१ जना प्रमुख व्यक्तिसँग बयान लिइएको थियो भने १४१ जनासँग अन्तरक्रिया तथा परामर्श गरिएको आयोगले जनाएको छ।
विज्ञ टोलीमार्फत गरिएको ब्यालेस्टिक परीक्षणले आन्दोलनका क्रममा प्रयोग गरिएका गोली प्रहारको प्रकृतिबारे समेत निष्कर्ष निकालेको छ। परीक्षणअनुसार आन्दोलनकारीहरूको शरीरको माथिल्लो भागमा गोली लागेको कारण गम्भीर मानवीय क्षति भएको देखिएको छ।
छानबिन प्रक्रियामा सुरक्षा निकायको भूमिका मात्र होइन, राजनीतिक नेतृत्वको निर्णय प्रक्रिया र जिम्मेवारीसमेत प्रश्नमा परेको स्रोतले जनाएको छ। आयोगले प्रतिवेदन सार्वजनिक गर्दा घटनाको विस्तृत विवरण, जिम्मेवार पक्ष र आवश्यक सिफारिससमेत सार्वजनिक गर्ने तयारी गरेको छ।