काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।
आयोगका अनुसार सो दिन बिहान ११ः३० बजे आयोग परिसरमा विशेष कार्यक्रम आयोजना गरी निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरिनेछ।
राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारलाई आयोगले यसअघि नै निर्वाचित घोषणा गरिसकेको छ। प्रमाणपत्र वितरणका लागि सम्बन्धित सांसदलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ। आयोगले नागरिकता वा राष्ट्रिय परिचयपत्र तथा पासपोर्ट साइज फोटो अनिवार्य रूपमा ल्याउन आग्रह गरेको छ।
यस निर्वाचनबाट कुल ६ वटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिक प्रणालीतर्फ रहेको ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ। त्यसपछि नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६ र नेकपाले ९ सिट पाएका छन्। अन्य दुई दलले समान रूपमा चार–चार सिट जितेका छन्।
आयोगका अनुसार प्रमाणपत्र वितरणसँगै प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुनेछ।