सी जिनपिङको पुस्तक जलाएको घटनामा कारबाही अघि बढाउन गृहको निर्देशन

एक महिना अगाडि
सी जिनपिङको पुस्तक जलाएको घटनामा कारबाही अघि बढाउन गृहको निर्देशन

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन गरी आवश्यक कारबाही अघि बढाउन गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

चीनले काठमाडौंस्थित आफ्नो दूतावासमार्फत यस घटनाप्रति चासो व्यक्त गरेपछि गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पार्न सक्ने प्रकृतिको घटना भएकाले गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको हो।

यस घटनाबारे छानबिन र कारबाही गर्न भन्दै चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्र (नोट भर्बाल) सहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। त्यसपछि गृह मन्त्रालयले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई निर्देशन पठाएको हो।

गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय प्रहरी प्रशासनलाई पनि घटनाबारे विस्तृत अनुसन्धान गर्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको जनाएको छ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल–चीन सम्बन्धसँग जोडिएको संवेदनशील विषयका रूपमा सरकारका विभिन्न निकायले यसलाई गम्भीर रूपमा लिएका छन्।