उज्यालो नेपालले रास्वपासँग एकता नगर्ने

४ महिना अगाडि
उज्यालो नेपालले रास्वपासँग एकता नगर्ने

काठमाडौं । कुलमान घिसिङको समर्थनमा गठनभएको उज्यालो नेपाल पार्टीले रास्वपासँग तत्काल एकीकरण नगर्ने भएको छ ।

पार्टी गठन गर्नुअघि कुलमानले रास्वपाका शीर्ष तहका नेताहरूसँग संवाद गरेका थिए । रास्वपासँग सहमति जुट्न नसकेसँग कुलमान छुट्टै पार्टी गठनमा लागे ।

कुलमान संलग्न रहेको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्वसचिव अनुप उपाध्याय अध्यक्ष रहेको उज्यालो पार्टीको ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । छुट्टै दल गठन गरेर अघि बढेपनि रास्वपासँग एकताका लागि संवादलाई भने उज्यालो नेपालले जारी राखेको थियो ।

रास्वपासँग संवाद गर्नका लागि उज्यालो पार्टीबाट कुलमानका दाजु गणेश घिसिङले अगुवाई गरेका थिए । दुई पक्षीय संवादमा रास्वपाले एकपछि अर्को शर्त राखेपछि तत्काल एकता हुन नसक्ने निचोडमा पुगेको उज्यालो नेपालले बताएको छ ।

नेताहरुका अनुसार केन्द्रीय समितिको बैठकले रास्वपासँग तत्काल एकताका लागि संवाद नगर्ने निर्णय गरेको छ । रास्वपासँग एकताका लागि संवाद गर्ने क्रमले पार्टी संगठन निर्माणमा असर पुगेको निष्कर्ष पनि उज्यालो नेपालले निकालेको छ ।

पार्टी सभापति, चुनाव चिन्ह लगायतमा उज्यालो नेपाल लचक भएको तर रास्वपा लचक नदेखिएको उक्त दलका नेताहरुको दाबी छ । एकताका लागि हुने संवादलाई पहिलो प्राथमिकतामा नराखेर अब संगठन निर्माण लाग्ने उनेपाले जनाएको छ ।

उज्यालो नेपाल पार्टी गठन हुनुअघि भएका संवादमा कुलमानले पार्टी सभापतिको दाबी गरेको विषयहरु बाहिर आएका थिए ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले उपसभापति पद सहित रास्वपामा आउन आग्रह गरेका थिए ।
अर्कोतर्फ, रास्वपाले अतिरञ्जित गरेर रास्वपाबाट विषयहरु बाहिर ल्याएको उज्यालो नेपालका नेताहरुको दाबी छ । 

उज्यालो नेपाल पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरु रास्वपासँग एकतालाई प्राथमिकतामा नराखेर संगठन निर्माणमा जोड दिनुपर्ने विचार राखेका नेताहरुले जानकारी गराएका छन् । रास्वपा, उज्यालो नेपाल पार्टी, काठमाडौंका मेयर बालेन शाह, जेनजी अगुवा सुदन गुरुङ लगायत मिल्नुपर्ने गरी  संवादहरु भएका थिए ।

बालेन र कुलमानसँगै रास्वपासँग एकता संवाद गर्न नख्खु कारागार जान लागेको सुदन गुरुङले सार्वजनिक गरेका थिए । त्यसअघि कुलमानले काठमाडौं महानगरका मेयर शाहसँगको तस्वीर सार्वजनिक गरेर ‘देश बनाउने अभियानमा हामीसँगै छौँ’ लेखेका थिए । उज्यालो नेपालका नेताहरुको दाबी अनुसार बालेन रास्वपासँग भन्दा उज्यालो पार्टीप्रति नजिक छन् ।