काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी चार जनाको मृत्यु भएको छ भने साढे दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्म देशका ४३ जिल्लामा कुल ७३ वटा विपद्का घटना रेकर्ड भएका छन्।
ती घटनामा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये दुई जना हावाहुरीका कारण, एक जना सर्पदंशबाट र एक जना चट्याङ लागेर ज्यान गएको विवरणमा उल्लेख छ।
उक्त अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ घटना र आगलागीका १२ घटना दर्ता भएका छन्। प्राधिकरणले मौसम परिवर्तनसँगै विपद्का घटना बढ्न सक्ने भएकाले सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।