काठमाडौं । खाडी क्षेत्रमा पछिल्लो समय बढ्दो तनावका बीच त्यहाँ कार्यरत नेपाली कामदारहरूको अवस्थाबारे चासो बढेको छ। विभिन्न देशमा कार्यरत नेपाली दूतावास तथा सरकारी निकायका अनुसार हालसम्म स्थिति पूर्ण रूपमा संकटग्रस्त नभए पनि उच्च सतर्कता अपनाइएको छ ।
उपलब्ध तथ्यांकअनुसार कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान र बहराइन लगायतका देशहरूमा १७ लाख बढी नेपाली कामदार कार्यरत छन् । यीमध्ये सबैभन्दा बढी नेपाली साउदी अरब र कतारमा रहेका छन् ।
हालसम्म ती देशहरूमा नेपाली कामदारको दैनिक कामकाज सामान्य रूपमा सञ्चालनमै रहेको जनाइएको छ । निर्माण, सेवा तथा औद्योगिक क्षेत्रका गतिविधि जारी छन् र ठूलो संख्यामा कामदार विस्थापित हुने वा रोजगारी गुम्ने अवस्था देखिएको छैन ।
यद्यपि, नेपाल सरकार तथा सम्बन्धित दूतावासहरूले नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अनावश्यक रूपमा बाहिर ननिस्कन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न तथा आवश्यक पर्दा दूतावाससँग सम्पर्कमा रहन भनिएको छ । साथै, पासपोर्ट र अन्य कागजात सुरक्षित राख्न पनि सुझाव दिइएको छ ।
कम्पनीहरूले समेत आफ्ना कामदारलाई सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् । संवेदनशील क्षेत्रबाट टाढा रहन, रातिको समयमा अनावश्यक हिँडडुल नगर्न र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन भनिएको छ ।
हालसम्म नेपाली कामदारलाई सामूहिक रूपमा स्वदेश फर्काउने निर्णय गरिएको छैन भने उद्धार अभियान पनि सुरु गरिएको छैन । यसले अहिलेको अवस्था नियन्त्रणमै रहेको संकेत गरेको छ । खाडी देशहरुले पनि काम रोक्ने वा श्रमिक फिर्ता पठाउने निर्णय गरेका छैनन् ।
तनाव कायमै रहे ति देशहरुले रोजगारी कटौती गर्न सक्छन् । नयाँ भर्ती केही ठाउँमा ढिलो/रोकिएको छ । नयाँ परियोजनामा अनिश्चित बनेका छन् । ग्यास/तेल क्षेत्रमै आक्रमण हुनु र द्वन्द्व अन्य खाडी देशतर्फ फैलिने सम्भावना छ । यसले बाह्य कम्पनीहरु लगानी गर्न निरुत्साहित भएका छन् ।
त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले आवश्यक परे उद्धार योजना कार्यान्वयन गर्ने तयारी अवस्थामा राखेको जनाएको छ । दूतावासहरूले पनि आफ्ना नागरिकहरूको विवरण अद्यावधिक गर्दै समन्वय बढाइरहेका छन् ।
खाडी क्षेत्रमा तनाव जारी रहेकाले स्थिति कहिल्यै पनि बदलिन सक्ने भएकाले नेपाली कामदारलाई सतर्क रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ ।