काठमाडौं । साउदी अरबका अधिकारीहरूले ‘होर्मुज स्ट्रेट’मा अवरोध जारी रहेमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इरान–इजरायल द्वन्द्वका कारण खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरू प्रभावित भइरहेका छन्। यसले तेल आपूर्तिमा अस्थिरता बढाउँदै मूल्यमा तीव्र उतारचढाव ल्याएको छ। हालै ब्रेन्ट क्रुडको मूल्य पनि ११९ डलरसम्म पुगेर फेरि घटेको थियो।
विशेषज्ञहरूका अनुसार, यदि लाल सागर र प्रमुख निर्यात मार्गहरूमा थप अवरोध वा आक्रमण भएमा तेलको मूल्य कम्तीमा १५० डलरभन्दा माथि पुग्ने सम्भावना उच्च छ। साउदी अरबले हाल लाल सागरस्थित यान्बु बन्दरगाहमार्फत निर्यात जारी राखे पनि उक्त क्षेत्रसमेत जोखिममा पर्न सक्ने आशंका गरिएको छ।
यसैबीच, कतारको रास लाफान एलएनजी केन्द्रमा भएको आक्रमणले विश्व ग्यास आपूर्तिमा दीर्घकालीन असर पार्न सक्ने अनुमान गरिएको छ। क्षतिको स्तर स्पष्ट नभए पनि मर्मतमा महिनौँ लाग्न सक्ने र सन् २०२६ सम्म पूर्ण सञ्चालनमा फर्किन नसक्ने विश्लेषण गरिएको छ।
ऊर्जा बजारका जानकारहरूले यस्तो अवस्था जारी रहेमा विश्वव्यापी तेल तथा ग्यास आपूर्ति गम्भीर रूपमा प्रभावित भई मूल्यमा थप चाप पर्ने चेतावनी दिएका छन्।