काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश बढिरहेका बेला काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। स्वतःस्फूर्त रूपमा भेला भएका प्रदर्शनकारीहरूले दोषीलाई तत्काल कानुनी कारबाही गर्न र पीडितलाई छिटो न्याय दिलाउन सरकारसँग माग गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले महिला हिंसाविरुद्ध कडा कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका थिए। “हिंसा सहिँदैन”, “इनिसालाई न्याय दे”, “अपराधीलाई लुकाउन पाइँदैन” जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित उनीहरूले सरकारमाथि दबाब सिर्जना गरेका थिए।
घटनाअनुसार, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भएकी विक २३ फागुन बिहान ट्युसन पढ्न भनेर घरबाट निस्किएकी थिइन्। लामो समयसम्म घर नफर्केपछि परिवारले खोजी सुरु गर्दा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो।
पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएपछि घटनाले थप गम्भीर रूप लिएको छ। हाल प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ भने दोषीको पहिचान र पक्राउका लागि प्रयास तीव्र पारिएको जनाएको छ।
यस घटनापछि महिला सुरक्षा, न्याय प्रणालीको प्रभावकारिता र अपराध नियन्त्रणका विषयमा पुनः गम्भीर बहस सुरु भएको छ। प्रदर्शनकारीहरूले यस्ता घटनाको पुनरावृत्ति रोक्न ठोस कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।