बुटवलसहित लुम्बिनीका विभिन्न क्षेत्रमा भीषण हावाहुरी, दिउँसै अँध्यारो

४ हप्ता अगाडि
बुटवलसहित लुम्बिनीका विभिन्न क्षेत्रमा भीषण हावाहुरी, दिउँसै अँध्यारो

रूपन्देही। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार अपराह्न अचानक आएको तीव्र हावाहुरीले जनजीवन प्रभावित बनेको छ। बुटवल, दाङ, बाँके लगायतका क्षेत्रमा हावाहुरीसँगै वर्षा हुँदा दिउँसै अँध्यारो जस्तो अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।

मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको थियो। सोहीअनुसार अहिले ती क्षेत्रमा तीव्र हावा चल्नुका साथै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हावाहुरीका कारण रुख ढल्ने, टिनका छाना उड्ने, कमजोर संरचनामा क्षति पुग्ने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम बढेको छ। केही स्थानमा विजुली आपूर्ति अवरुद्ध भएको प्रारम्भिक जानकारी आएको छ।

बाँकेका केही स्थानीय तहले विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै आजका लागि विद्यालय बिदा समेत दिएका छन्। स्थानीय प्रशासनले अनावश्यक बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

मौसममा आएको यस आकस्मिक परिवर्तनले दैनिक गतिविधि प्रभावित बनेका छन् भने सम्बन्धित निकायले अवस्था निगरानी गरिरहेको जनाइएको छ।