काठमाडौं । राजधानी काठमाडौंमा हावाहुरी, असिना सहितको वर्षाले हवाई उडान सेवा प्रभावित बनेको छ। प्रतिकूल मौसमका कारण केही अन्तर्राष्ट्रिय उडानहरू गन्तव्य परिवर्तन (डाइभर्ट) गरिएका छन् भने आन्तरिक उडानहरू समेत प्रभावित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल का अनुसार चीनको कुनमिङबाट काठमाडौंका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको जहाज मौसम खराबीका कारण भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।
त्यसैगरी, नयाँदिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको जहाज पनि काठमाडौं अवतरण गर्न नसकी भारतकै लखनऊतर्फ मोडिएको छ।
विमानस्थल कार्यालयका अनुसार काठमाडौंको मौसममा आएको अचानक खराबीका कारण इनरुट (हवाइ मार्गमा रहेका) तथा काठमाडौं अवतरण गर्ने उडानहरू प्रभावित भएका हुन्। यसैबीच, देशभित्रका विभिन्न गन्तव्यतर्फका आन्तरिक उडानहरू समेत केही समयका लागि ‘होल्ड’ गरिएको जनाइएको छ।
मौसममा सुधार नआएसम्म उडान तालिका प्रभावित रहने सम्भावना रहेको विमानस्थल स्रोतले जनाएको छ। यात्रुहरूलाई आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।