काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेस सँगको औपचारिक भ्रातृ सम्बन्ध तोड्दै अब स्वतन्त्र विद्यार्थी संगठनका रूपमा अघि बढ्ने महत्वपूर्ण निर्णय गरेको छ।
काठमाडौंमा सम्पन्न नेविसंघको सिनेट बैठकले संगठनलाई अब पार्टीको प्रत्यक्ष संरचना र प्रभावभन्दा बाहिर राख्ने तथा पूर्ण कार्यगत स्वायत्तताका साथ सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो। यद्यपि, कांग्रेसको सिद्धान्त र नीतिप्रति वैचारिक समर्थन भने यथावत् रहने स्पष्ट पारिएको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार सिनेट बैठक संगठनको उच्चतम नीतिगत निकाय भएकाले यस निर्णयले नेविसंघलाई स्वायत्त, स्वतन्त्र र जिम्मेवार संस्थाका रूपमा स्थापित गर्नेछ। उनले बदलिँदो समयसँगै विद्यार्थी आन्दोलनमा सुधारको आवश्यकता महसुस गरिएको उल्लेख गर्दै अब संगठनलाई विद्यार्थी हित केन्द्रित र स्वतन्त्र सोचअनुसार सञ्चालन गरिने बताए।
उनका अनुसार पार्टीको भ्रातृसंस्थाका रूपमा रहँदा संगठनको विश्वसनीयता र भूमिकामाथि प्रश्न उठ्न थालेपछि यस्तो निर्णय लिनुपरेको हो। “लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै अब विद्यार्थीको विवेक र आवश्यकताअनुसार अघि बढ्ने संरचना बनाइएको छ,” उनले भने।
साथै, बैठकले नेविसंघको आगामी महाधिवेशन वैशाख २० र २१ गते आयोजना गर्ने निर्णय समेत गरेको छ।
यो निर्णयलाई विद्यार्थी राजनीतिमा नयाँ मोडको रूपमा हेरिएको छ, जसले भविष्यमा अन्य विद्यार्थी संगठनहरूमा पनि संरचनागत परिवर्तनको बहसलाई तीव्र बनाउन सक्ने विश्लेषण गरिएको छ।