बुटवल–पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध

३ हप्ता अगाडि
बुटवल–पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध
बुटवल । निरन्तर वर्षापछि गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित दोभानको सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। आज बिहानदेखि परेको वर्षाले पहिरो झरेको र यातायात पूर्ण रूपमा प्रभावित भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ। यसैगरी, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा पनि वर्षाका कारण सडक चिप्लो भई सवारी आवागमन प्रभावित भएको छ। वैकल्पिक रूपमा पाल्पा रुट हुँदै सवारीसाधन डाइभर्सन गरिए पनि उक्त मार्ग समेत अवरुद्ध हुँदा यात्रुहरू थप समस्यामा परेका छन्। प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन केही समय लाग्ने सम्भावना रहेको छ। यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक योजना बनाउन अनुरोध गरिएको छ।