काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा देखिएको अनियमितता र सम्भावित भ्रष्टाचारबारे अध्ययन तथा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। सचिवस्तरीय निर्णयमार्फत गठन गरिएको उक्त समितिलाई ३० दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
समितिलाई निगमभित्र देखिएका वेथिति, जहाज खरिद प्रक्रिया, मर्मत तथा सञ्चालनसँग सम्बन्धित गतिविधिहरूमा भएका भनिएका अनियमितताको प्रमाण सङ्कलन, अध्ययन र छानबिन गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। साथै, छानबिनबाट प्राप्त निष्कर्षका आधारमा सुधारका लागि आवश्यक कार्ययोजना पनि सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ।
यसअघि प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुदन गुरुङले निगममा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न माग गर्दै फागुन २८ गते मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए। उनले जहाज खरिददेखि मर्मतसम्बन्धी कार्यसम्ममा अनियमितता भएको दाबी गर्दै त्यसका केही प्रमाणसमेत पेश गरेको बताएका थिए।
सरकारले गठन गरेको यो समितिबाट निगमभित्रका समस्याहरूको वास्तविक अवस्था उजागर हुनुका साथै दीर्घकालीन सुधारका उपायहरू पहिचान हुने अपेक्षा गरिएको छ।