काठमाडौँ । कैलालीको खक्रौला स्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा भएको आक्रमण घटनाको छानबिनका लागि कमान्डरसहित त्यहाँ कार्यरत सशस्त्र प्रहरीलाई काठमाडौँस्थित मुख्यालय तानिएको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएको सामान नियन्त्रणमा लिने क्रममा उत्पन्न विवादपछि चैत ४ गते तस्करीमा संलग्न समूह गुल्मभित्रै प्रवेश गरी आक्रमणमा उत्रिएको थियो। उक्त समूहले गुल्मपति डीएसपी प्रदीप पौडेलमाथि हातपात गर्ने प्रयास गरेको थियो।
घटनापछि सशस्त्र प्रहरी मुख्यालयले छानबिन प्रक्रिया अघि बढाएको छ। युनिट सुरक्षामा लापरबाही भएको आशंकामा गुल्मपति पौडेलसहितका सुरक्षाकर्मीलाई आवश्यक कारबाहीका लागि मुख्यालय बोलाइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
मुख्यालयका अनुसार, कार्यालय परिसरमै अनाधिकृत प्रवेश गरी आक्रमण प्रयास हुँदा समेत आवश्यक बल प्रयोग नगर्नु र सुरक्षा सतर्कता नअपनाउनु गम्भीर कमजोरीका रूपमा लिइएको छ। यस विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले नम्बर ४३ रिजर्भ गण वनवेहडाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
उता, खक्रौला गुल्ममा कार्यरत टोली मुख्यालय तानिएपछि हाल त्यहाँ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको छ।