लिपुलेक नाकाबाट भारत–चीन व्यापार पुनः सञ्चालन गर्ने भारतको घोषणा

३ हप्ता अगाडि
लिपुलेक नाकाबाट भारत–चीन व्यापार पुनः सञ्चालन गर्ने भारतको घोषणा

काठमाडौं । नेपालले दाबी गर्दै आएको क्षेत्र लिपुलेक नाका हुँदै भारतले चीनसँगको व्यापार पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। भारतीय अधिकारीहरूका अनुसार उक्त नाका आगामी जुन १ देखि फेरि खुला गर्ने तयारी भइरहेको छ।

उत्तराखण्डको पिथौरागढ जिल्लाका प्रमुख अधिकारीले पाँच वर्षदेखि बन्द रहेको यो मार्ग पुनः सञ्चालन गर्न प्रक्रिया अघि बढाइएको बताएका छन्। व्यापार अवरुद्ध हुँदा स्थानीय व्यापारीहरूले ठूलो आर्थिक क्षति बेहोरेको भन्दै मार्ग खोल्न आवश्यक रहेको उनको भनाइ छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको विदेश मन्त्रालयले यसका लागि आवश्यक अनुमति (नो अब्जेक्सन लेटर) दिइसकेको छ। विदेश सचिवले सम्बन्धित प्रदेश सरकारलाई पत्र लेखेर लिपुलेक नाकाबाट व्यापार पुनः सुरु गर्न निर्देशनसमेत दिएका छन्।

लिपुलेक क्षेत्र नेपालले आफ्नो भूभाग भनी दाबी गर्दै आएको छ। यसअघि पनि भारत र चीनबीच सोही मार्ग प्रयोग गर्ने विषयमा सहमति हुँदा नेपालले औपचारिक रूपमा आपत्ति जनाएको थियो।

यो नयाँ घोषणापछि सीमासम्बन्धी विवाद फेरि चर्किने सम्भावना देखिएको छ। नेपालले यस विषयमा कूटनीतिक पहलमार्फत आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।