काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र हर्मुज जलसन्धिमा लगाइएको अवरोध हटाउन अन्तिम चेतावनी दिएका छन् । उनले उक्त समयसीमाभित्र जलसन्धि नखोले इरानमाथि सीधा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानका गतिविधिप्रति कडा असन्तुष्टि जनाउँदै हर्मुज जलसन्धि अन्तर्राष्ट्रिय इन्धन आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मार्ग भएको बताएका छन् । उनले जलसन्धिमा अवरोध जारी रहे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले समयसीमाभित्र माग पूरा नभए इरानका विद्युत उत्पादन केन्द्र (पावर प्लान्ट) हरूलाई निशाना बनाइ ध्वस्त पारिने समेत उल्लेख गरेका छन् ।
हर्मुज जलसन्धि विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिन्छ । यस क्षेत्रमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति र मूल्यमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।
यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय समुदायले भने संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेका छन् ।