राप्रपाले समानुपातिक सांसदलाई समानुपातिक सूचीमा नराख्ने

४ महिना अगाडि
राप्रपाले समानुपातिक सांसदलाई समानुपातिक सूचीमा नराख्ने

पशुपति शमशेरदेखि को को प्रभावित ? 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची पठाउँदा नदोहोर्याउने भएको छ । राप्रपाको संसदीय समितिको बैठकले २०६४ सालदेखि समानुपातिक सूचीमा रहेर सांसद बनेका कसैलाई पनि यसपटक समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको हो । समानुपातिकमा यसपटक जेनजीलाई प्राथमिकतामा राख्ने पनि राप्राको सर्कुलरमा उल्लेख छ । 

राप्रपाका महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङले जिल्ला अध्यक्षहरूलाई गरेको सर्कुलर पठाउँदै भनिएको छ, फागुन २१ गतेको निर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार हुन चाहने व्यक्तिहरुको नामावली महिला सहित ३र३ जनाको दरले प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको निर्णय सहित नामावली संकलन गरी आफ्नो राय सल्लाह राखी राप्रपा संसदीय समितिमा ७ दिन भित्र पठाई दिनु हुन अनुरोध गरिन्छ । 

राप्रपाको यो निर्णयबाट पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी लगायतका पुराना नेता सांसद बन्नका लागि प्रत्यक्षमै जानुपर्ने हुन्छ । 

राप्रपाले समानुपातिकका लागि उपलव्ध भएसम्म आदिवासी जनजाति, खसरआर्य, थारू, दलित, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्र आदिका आधारमा सिफारिस गर्नुपर्ने तथा जिल्लाबाट सिफारिस पठाउँदा प्रत्येक उम्मेदवारको नागरिकता र मतदाता परिचय पत्रको प्रतिलिपिहरू अनिवार्य रूपमा संलग्न हुनुपर्ने उल्लेख गरेको छ ।