काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन्। प्रस्ताव अनुसार चैत महिनाबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तभित्र सम्पन्न गर्ने योजना बनाइएको छ।
कांग्रेसले गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरेको थियो। पार्टी विधानअनुसार विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। यसअघि कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो।
सभापति थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार सदस्यता नवीकरणदेखि केन्द्रीय महाधिवेशनसम्मका चरणहरू क्रमबद्ध रूपमा निर्धारण गरिएको छ। यसले पार्टी संगठनलाई समयमै अधिवेशन सम्पन्न गर्न मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।
यस्तो छ प्रस्तावित कार्यतालिका:
१. वैशाख १ गतेदेखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण
२. असार १५ गतेभित्र केन्द्रले क्रियाशील सदस्यता छानबिन सम्पन्न गर्ने
३. असार मसान्तभित्र सदस्यता विवरण निर्वाचन समितिलाई बुझाउने
४. साउन ६ गते गाउँ/नगर वडा अधिवेशन
५. साउन १२ गते गाउँ/नगरपालिका अधिवेशन
६. साउन २३ गते प्रदेश सभा क्षेत्र अधिवेशन
७. साउन ३० गते प्रतिनिधि सभा क्षेत्र अधिवेशन
८. भदौ ६ र ७ गते जिल्ला अधिवेशन
९. भदौ १५ र १६ गते प्रदेश अधिवेशन
१०. भदौ २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन
प्रस्तावित कार्यतालिका पारित भएमा कांग्रेसले निर्धारित समयमै अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। अहिले बैठकमा यसबारे थप छलफल जारी रहेको जनाइएको छ।