देउवा समूहलाई गगन थापाको आग्रह: महाधिवेशनमा एकजुट हुन आउनुस्

३ हप्ता अगाडि
देउवा समूहलाई गगन थापाको आग्रह: महाधिवेशनमा एकजुट हुन आउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिन आग्रह गरेका छन्।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सभापतिको हैसियतमा आफूले पार्टीलाई अगाडि बढाइसकेको उल्लेख गर्दै अब महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका हुन्। उनले अब आन्तरिक विवादभन्दा संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने सन्देश दिएका छन्।

थापाले भने, ‘अब हाम्रो अर्जुन दृष्टि महाधिवेशन हो। विशेष महाधिवेशन भयो, नयाँ नेतृत्व आयो, हामी निर्वाचनमा गयौं, अब नियमित महाधिवेशनमा जान्छौं। को सहभागी भयो, को भएन भन्ने कुरा अब सकियो। मैले सभापतिको रूपमा गाडी अगाडि बढाइसकेको छु, अब यो रोकिन्न।’

उनले विशेष महाधिवेशनका विषयमा कसैप्रति पूर्वाग्रह नराखिने स्पष्ट पार्दै सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। असन्तुष्ट नेताहरूसँग संवाद जारी रहेको उल्लेख गर्दै उनले पार्टीभित्र सहमति निर्माणको प्रयास भइरहेको बताए।

थापाले भने, ‘हामी सबैसँग संवाद गर्छौं। कुनै पूर्वाग्रह नराखी सबैलाई महाधिवेशनमा सहभागी गराउन चाहन्छौं। विशेष महाधिवेशनप्रति केही असन्तुष्टि हुन सक्छ, तर हामीले छोटो समयमै १६५ उम्मेदवार चयन गरेका थियौं र निष्पक्ष रूपमा निर्णय गरेका थियौं।’

उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र जारी शक्ति संघर्षबीच एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।