अस्थायी हलमा सांसदको शपथ र संसद बैठक तयारी

३ हप्ता अगाडि
अस्थायी हलमा सांसदको शपथ र संसद बैठक तयारी

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण तथा बैठक सञ्चालनका लागि संघीय संसद सचिवालयले निर्माणाधीन संसद परिसरभित्रको बहुउद्देश्यीय हल तयार पारेको छ।

चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम यही हलमा गर्ने तयारी गरिएको हो। संसद भवनको मुख्य सभाकक्ष समयमै तयार हुन नसकेपछि उक्त हललाई अस्थायी रूपमा संसद सञ्चालनका लागि प्रयोग गर्न लागिएको हो।

हाल अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिक काम अन्तिम चरणमा रहेको जनाइएको छ। सिटहरूमा माइक्रोफोन जडान भइरहेको छ भने बुधवारसम्म पूरा हुने लक्ष्य राखिएको छ। दुई वटा सिटका लागि एउटा माइक्रोफोनको व्यवस्था गरिएको छ।

शपथ कार्यक्रम सुरु हुनुअघि सम्म व्यवस्थापनका बाँकी कामहरू जारी रहनेछन्। यसपटक २४ जना सांसदले मातृभाषामा शपथ लिने तयारी गरेका छन्।

चैत ११ गते ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिएपछि उनले १२ गते अन्य सांसदलाई शपथ गराउने कार्यक्रम छ।