काठमाडौँ । लगातार ६ दिनमा तोलामा ३६ हजार रुपैयाँसम्म घटेको सुनको मूल्य आज पुनः उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ हजार रुपैयाँले वृद्धि भई २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो भने सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेर २ लाख ७५ हजार ५०० रुपैयाँमा झरेको थियो।
यसअघि गत ६ दिनको अवधिमा सुनको मूल्य निरन्तर घटेको थियो। सो क्रममा सोमबार ६ हजार ५००, आइतबार १२ हजार ५००, शुक्रबार ७ हजार ८००, बिहीबार ५ हजार ४०० र बुधबार २ हजार २०० रुपैयाँले भाउ ओरालो लागेको थियो।
यस वर्ष माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढ्दै तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो।
यसैबीच, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा ४१५ रुपैयाँले वृद्धि भई ४ हजार ९२० रुपैयाँ पुगेको छ। हिजो पनि चाँदीको भाउ ८९ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको थियो।
गत माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो। त्यस्तै, माघ १५ गते चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो।