काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अमेरिकाले बधाई दिएको छ। साथै, नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तयार रहेको सन्देश पनि दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले बुधबार रास्वपा सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएका हुन्। कुराकानीका क्रममा उनले नेपालसँगको आर्थिक सहकार्यलाई थप मजबुत बनाउने र दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने इच्छा व्यक्त गरेका थिए।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत हासिल गरेपछि उसले एकल सरकार गठन गर्ने तयारी अघि बढाएको छ। पार्टीले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य भइरहेको जनाएको छ।
संविधान जारी भएपछि पहिलोपटक कुनै एक दलले स्पष्ट बहुमत ल्याएर सरकार गठन गर्न लागेकाले यसलाई नेपाली राजनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।