इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–७ स्थित एक व्यस्त क्याफेमा बुधबार बिहान भीषण आगलागी भएको छ। अत्यधिक भीडभाड हुने क्षेत्रमै आगलागी भएपछि आसपासका बासिन्दामा त्रास फैलिएको छ।
आगो नियन्त्रणमा लिन इटहरीसहित धरान र इनरुवाबाट पुगेका पाँच वटा दमकल प्रयोग गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
क्याफेभित्र मानिस फसेका छन् वा छैनन् भन्नेबारे यकिन जानकारी आउन बाँकी छ। आगलागीको कारणसमेत खुल्न नसकेको प्रहरीले बताएको छ।
स्थानीयका अनुसार दमकल घटनास्थलमा ढिलो पुग्दा आगो झन् फैलिएको थियो। यसअघि भएको आन्दोलनका क्रममा दमकलमा क्षति पुगेको कारण समयमै परिचालन हुन नसकेको उनीहरूको भनाइ छ।
आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालित छन्। इटहरी चोक नजिकै रहेको उक्त क्याफे प्रदेशकै चर्चित र व्यस्त स्थानमध्ये एक मानिन्छ।