निर्धारित मितिमै चुनाव गर्ने एन्फाको अडान, हस्तक्षेप भए निलम्बनको चेतावनी

३ हप्ता अगाडि
निर्धारित मितिमै चुनाव गर्ने एन्फाको अडान, हस्तक्षेप भए निलम्बनको चेतावनी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ। एन्फाका महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न आवश्यक प्रतिनिधि खटाई सहयोग गर्न आग्रह गरिएको छ।

एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८(ड) र २९(१) अनुसार आफूले कुनै निर्देशन उल्लंघन नगरेको स्पष्ट पारेको छ। परिषद र मन्त्रालयबाट प्राप्त निर्देशनहरूको समयमै पालना गर्दै लिखित जवाफ दिँदै आएको उल्लेख गर्दै एन्फाले आफ्नो प्रक्रियागत पारदर्शितामा जोड दिएको छ।

एन्फाले आफू एक स्वायत्त संस्था भएको र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) तथा एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यका रूपमा उनीहरूको नियम र निर्देशन पालना गर्नु आफ्नो दायित्व भएको बताएको छ। तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल अन्तर्राष्ट्रिय रूपमा निलम्बनमा पर्न सक्ने चेतावनीसमेत आएको जनाउँदै एन्फाले निर्वाचन स्थगन भए अन्तर्राष्ट्रिय प्रतियोगिता, आर्थिक तथा प्राविधिक सहयोग रोकिने जोखिम रहेको औंल्याएको छ।

यसै सन्दर्भमा एन्फाले राखेपलाई कुनै निलम्बनको निर्णय नगर्न र निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्न पुनः आग्रह गरेको छ।