बालेनलाई संसदीय दलको नेता बनाउँदै रास्वपा, प्रधानमन्त्री नियुक्तिको मार्ग प्रशस्त

३ हप्ता अगाडि
बालेनलाई संसदीय दलको नेता बनाउँदै रास्वपा, प्रधानमन्त्री नियुक्तिको मार्ग प्रशस्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। सोही प्रक्रियाले उनलाई प्रधानमन्त्री नियुक्तिका लागि औपचारिक बाटो खोल्नेछ।

दलको नेता चयन गर्न आवश्यक प्रावधान मिलाउन रास्वपाले आज दिउँसो केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने जनाइएको छ।

प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रम सम्पन्न भएपछि बस्ने उक्त बैठकले पार्टी विधानमा आवश्यक संशोधन गर्नेछ। त्यसपछि संसदीय दलको बैठकमार्फत बालेनलाई दलको नेता चयन गरिने योजना रहेको छ।

निर्वाचनअघि नै बालेनलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट बहुमत नजिकको सिट जितेको दाबी गरेको छ।

दलको नेता चयन भएसँगै सो जानकारी राष्ट्रपति कार्यालयमा पठाइने तयारी गरिएको छ। त्यसपछि रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्।

यससँगै बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग निश्चित देखिएको छ।