काठमाडौँ । विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील मानिने होर्मुज स्ट्रेट सम्बन्धमा इरानले आफ्नो धारणा सार्वजनिक गरेको छ। अमेरिकाले उक्त समुद्री मार्ग खुला राख्न दबाब दिइरहेको अवस्थामा इरानले भने मित्र राष्ट्रहरूका लागि मार्ग खुला रहेको जनाएको हो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन, रुस, भारत, इराक र पाकिस्तानजस्ता देशलाई लक्षित गर्दै होर्मुज मार्ग प्रयोगमा कुनै रोक नलगाइएको बताएका छन्। उनका अनुसार इरानले आफ्नो मित्रवत सम्बन्ध भएका राष्ट्रहरूलाई यस मार्गबाट आवतजावतको सुविधा दिइरहेको छ।
पछिल्ला समय इरान र अमेरिका तथा इजरायल बीच बढ्दो सैन्य तनावका कारण उक्त क्षेत्रमा असुरक्षा बढेको छ। केही जहाजमाथि आक्रमण भएका विवरणहरू पनि सार्वजनिक भइरहेका छन्, जसले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा दबाब सिर्जना गरेको छ।
यस मार्गमा देखिएको अवरोधका कारण विश्व बजारमा तेल र ग्यासको आपूर्ति प्रभावित हुँदै गएको छ। परिणामस्वरूप धेरै देशमा ऊर्जा संकट गहिरिँदै गएको र मूल्य निरन्तर उकालो लागिरहेको अवस्था छ।
यसैबीच, फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा गरिएको संयुक्त हवाई हमलापछि क्षेत्रीय द्वन्द्व अझ चर्किएको छ। उक्त हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सहित उच्च तहका अधिकारीहरू लक्षित भएको बताइएको छ।
युद्ध अन्त्यका लागि अमेरिकाले बहुबुँदे प्रस्ताव अघि सारे पनि इरानले त्यसलाई अस्वीकार गरेको छ। हालको अवस्थामा वार्तामा बस्ने कुनै संकेत नदेखिएको इरानको भनाइ छ, जसले मध्यपूर्व क्षेत्रको तनाव तत्काल कम हुने सम्भावना न्यून देखिएको छ।