उपचार कसरी गर्ने ?
काठमाडौं । जाडोको समयमा कतिपयको हातमा कत्ला जस्तो निस्किने हुन्छ । यसलाई कत्ले रोग भनिन्छ । यो एक प्रकारको दीर्घ वा लामो समय रहने रोग हो । यो हलुका रातो वा सेतो कत्ला देखिने गर्छ तर खासै चिलाउँदैन । यस्तो कत्ला कुहिना, घुँडा, टाउकोमा आउनसक्छ।
कत्ले रोगले छाला, नङ र कपालमा असर गर्छ भने लामो समयमा हड्डीलाई समेत असर गर्नसक्छ। यो समस्या वयस्क व्यक्तिहरुमा नै बढी देखिएको पाइन्छ।
सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाममा बढी देखिने गर्छ। मदिरा सेवन तथा धूमपान गर्ने, तनाव लिने र सुख्खा छाला भएका व्यक्तिमा यो समस्या बढ्ने गरेको पाइन्छ।
पछिल्ला अनुसन्धानले कत्ले रोगको समयमै उपचार नगर्दा अन्य समस्या पनि देखिनसक्ने देखाएको छ। कत्ले रोग लागेका व्यक्तिलाई ‘सोरायटिक आर्थराइटिस’ अर्थात् बाथ रोग पनि हुनसक्छ। यस्तै मोटोपनको समस्या भएका व्यक्तिलाई कत्ले रोग छ भने मधुमेह तथा मेटावोलिक सिन्डो«म र मुटुमा पनि समस्या हुनसक्ने भनिएको छ।
कसरी गर्न सकिन्छ उपचार ?
कत्ले रोगको समयमै पूर्ण उपचार गरेमा निको पार्न सकिन्छ। तर निस्तेज पार्न भने सकिँदैन। निको भएको अवस्थामा पनि यो रोग फेरि बल्झिन सक्छ। त्यसैले यो रोगलाई क्रोनिक डिजिज पनि भनिन्छ।
रोगको सुरुवाती अवस्थामा मल्हम र मोस्चराइजर क्रिमले पनि नियन्त्रण हुनसक्छ। तर, शरीरभर फैलिएमा रोगको अवस्था हेरेर खाने औषधि दिएर पनि उपचार गर्नुपर्ने हुन्छ।