काठमाडौँ । सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा लगातार भूकम्पका धक्का महसुस भइरहेका छन्। विशेषगरी दार्चुला जिल्ला र बझाङ जिल्ला मा छोटो अवधिमै बारम्बार भूकम्प जाँदा स्थानीयवासी त्रसित बनेका छन्।
बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि पनि यही साता दार्चुलामा दुई पटक भूकम्प गएको थियो। चैत ९ गते बिहान ३ बजेर ५१ मिनेटमा सोही क्षेत्र आसपास ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने चैत ३ गते सिटौला क्षेत्र केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
यसैबीच, चैत ९ गते नै रायल, बझाङ आसपास केन्द्रबिन्दु बनाएर दिउँसो १ बजेर १४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
यसअघि पनि बझाङ क्षेत्रमा पटक–पटक भूकम्प गइरहेका छन्। मंसिर १४ गते सैपाल आसपास ४.४ म्याग्निच्युड, कात्तिक ६ गते हेमन्तबाडा क्षेत्रमा ३.९ म्याग्निच्युड तथा असोज २९ गते राति ४.९ म्याग्निच्युडको भूकम्प गएको तथ्यांक छ।
भूकम्पविद्हरूका अनुसार नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा पर्ने मुलुक हो। अझै पश्चिम क्षेत्र, विशेषगरी दार्चुला र बझाङ आसपास, दीर्घकालदेखि ठूलो भूकम्प नआएका कारण भूमिगत ऊर्जा सञ्चित भइरहेको मानिन्छ।
महाभूकम्पको जोखिम बढ्दो चिन्ता
विज्ञहरूले पश्चिम नेपालमा ठूला भूकम्पको सम्भावना उच्च रहेको चेतावनी दिँदै आएका छन्। लामो समयदेखि ठूलो भूकम्प नहुँदा उक्त क्षेत्रमा ऊर्जा थुप्रिँदै गएको र कुनै पनि बेला ठूलो धक्का आउन सक्ने उनीहरूको भनाइ छ।
यसले गर्दा स्थानीय तहदेखि संघीय स्तरसम्म भूकम्प पूर्वतयारी, सुरक्षित संरचना निर्माण र जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ।