विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १५औँ महाधिवेशनको मिति सर्न सक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता कोइरालाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुईरचार दिन मिति पछि सर्नसक्ने जानकारी दिए।
तर उनले निर्वाचन र महाधिवेशनमा सँगसँगै लैजानुपर्नेमा पनि जोड दिए । नेता कोइरालाले भने, ‘पार्टीको विधानअनुसार दुई पटक सभापति भइसक्नुभएका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा सभापतिमा उठ्नु हुन्न ।’
उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताए। कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भन्दै उनले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिए।
तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले संसद् पुनःस्थापनाको माग उठाउने धारणा राखे। यता संसद पुनस्र्थापनाका लागि कोइराला निकट सांसदहरुले पनि हस्ताक्षर बुझाएका छन् ।