आजै टुङ्गिन्छ नयाँ मन्त्रिपरिषद्, १८ सदस्यीय सरकार बनाउने तयारी

३ हप्ता अगाडि
आजै टुङ्गिन्छ नयाँ मन्त्रिपरिषद्, १८ सदस्यीय सरकार बनाउने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज नयाँ सरकारको मन्त्रिपरिषद् टुङ्ग्याउने तयारी गरेका छन्।

रास्वपाले बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने योजना बनाएको छ। हालसम्म प्रधानमन्त्रीमा बालेन्द्र शाह र अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्लेको शपथ निश्चित भइसकेको छ भने बाँकी मन्त्रीहरूको टुङ्गो आजै लगाइने जनाइएको छ।

पार्टीका अनुसार निर्वाचित सांसदहरूको योग्यता, क्षमता र वर्तमान राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै जिम्मेवार व्यक्तिहरूलाई सरकारमा पठाउने तयारी भइरहेको छ। सुशासनप्रति जनअपेक्षा पूरा गर्न र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सक्ने व्यक्तिहरूलाई प्राथमिकता दिइने नेताहरूले बताएका छन्।

स्रोतका अनुसार रवि लामिछाने र बालेन्द्र शाहबीच बुढानीलकण्ठस्थित निवासमा पछिल्ला केही सातादेखि निरन्तर छलफल भइरहेको छ। आज पनि सांसदहरूको शपथपछि दुई नेताबीच अन्तिम छलफल हुँदै मन्त्रिपरिषद्को टुङ्गो लगाइने बताइएको छ।

रास्वपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने सबै मन्त्रीहरूले भोलि नै पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ। ‘पहिले प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष शपथ लिनुहुन्छ, त्यसपछि अन्य मन्त्रीहरूको शपथ हुनेछ,’ उनले भने, ‘१८ सदस्यीय मन्त्रिपरिषद् आजै अन्तिम रूप पाउँछ।’

रास्वपाले मन्त्रिपरिषद् गठन गर्दा समावेशीतालाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। मन्त्रालयअनुसार दक्षता, लैङ्गिक सन्तुलन र भूगोलको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी गृहकार्य भइरहेको पार्टी स्रोतको दाबी छ।