काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचन परिणामलाई ‘जादुमय’ भन्दै टिप्पणी गरेका छन्।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि च्यासलस्थित पार्टी कार्यालयमा सांसदहरूलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
‘यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय देखिएको छ,’ उनले भने। अहिले नै विस्तृत टिप्पणी गर्ने समय नभए पनि परिणाम असामान्य रहेको उनको भनाइ थियो।
ओलीले एमालेविरुद्ध कुप्रचार गरिएको आरोप लगाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाविरुद्ध घृणाको राजनीति गरिएको बताए।
उनले एमाले सांसदहरूलाई सत्य र जनताको पक्षमा काम गर्न निर्देशन दिँदै महाभारतको उदाहरणसमेत दिए। ‘कौरवको सेना ठूलो थियो, पाण्डवको सानो। तर जित सत्यको भयो,’ उनले भने, ‘हामी पनि देश, जनता, सुशासन र विकासका लागि काम गर्छौँ।’